रुपन्देही । रुपन्देही जिल्ला अदालतमा आइतबार अबेर मात्रै सुप्रिम सहकारीको बचत ठगीसहितको अभियोगमा मुद्दा दर्ता भएपछि त्यसको प्रतिवादमा सोमबार रुपन्देही आउने पूर्व तयारीमा रहेका रवि लामिछाने काठमाडौंमै रोकिएका छन्।
आइतबार ढिलो गरी गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित २२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भएको थियो। यसअघि कास्की र काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएका उनी अदालतमा आफै उपस्थित हुने तयारीमा रहेको उनको सचिवालयले जनाएको छ।
सरकारी वकिलको कार्यालयले १४ जनाविरुद्ध नयाँ र ८ जनाविरुद्ध पूरक अभियोजन गरेको हो। अभियोग पत्रमा २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ सामूहिक बिगो माग दाबी गरिएको छ।
लामिछानेमाथि व्यक्तिगत २ करोड पनि बिगो दाबी गरिएको छ।















