काठमाडौँ – सरकारी पक्ष र अनशनरत डा। गोविन्द केसीका प्रतिनिधिबीचको आइतबारको वार्ता निष्कर्षविहीन बनेको छ । वार्ताले कुनै निचोड दिन नसके पनि सकारात्मक रहेको र गृहकार्य गरेर पुनः छलफलमा जुट्ने सहमति भएको केसी पक्षका वार्ता संयोजक डा। जीवन क्षेत्रीले बताए ।
‘हामीले मागहरूबारे जानकारी गरायौं, सरकारी पक्षले १९ औं अनशनका बेला भएको सम्झौताको कार्यान्व्यनबारे ब्रिफिङ गर्नुभयो,’ उनले भने, ‘थप गृहकार्य गरेर फेरि वार्तामा बस्ने कुरा भएको छ ।’ सरकारी वार्ता टोलीले मागहरूबारे निष्कर्षमा पुग्न मन्त्रीहरूसँग छलफल गर्नुपर्ने बताएका थिए ।
सरकारले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव रामप्रसाद घिमिरेको संयोजकत्वमा वार्ता टोली बनाएको छ । स्वास्थ्य सचिव रोशन पोखरेल र शिक्षा सचिवालय सचिव रामकृष्ण सुवेदी टोलीका सदस्य रहेका छन् ।
डा.केसी विभिन्न माग राखी पछिल्लो पटक ७ दिनदेखि धनगढीमा अनशनमा बसेका छन् । उनको तर्फबाट अधिवक्ता ओमप्रकाश अर्याल, डा. लिजन महर्जन लगायतका वार्ता टोलीमा सहभागी छन् । डा.केसीले भदौ २७ गते धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा २० औं सत्याग्रह सुरु गरेका छन् । चौथो दिनदेखि उनको स्वास्थ्यमा समस्या देखिन थालेपछि सेती प्रादेशिक अस्पतालको वार्डमा सारिएको छ ।















