तनहुँ ।भानु नगरपालिका-१० नेपालडाँडास्थित डुम्रे बेसीशहर सडकमा बा.२ ख ४०२२ नम्बरको माईक्रो र ग.२६ प ४०५८ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी स्कुटरमा सवार लमजुङ बेसीशहर नगरपालिका-८ बस्ने ३२ वर्षीया अनिता थापा श्रेष्ठको प्रदेश अस्पताल दमौलीमा र माईक्रोमा सवार मनाङ नासोँ गाउँपालिका-८ बस्ने ४० वर्षीय मन घलेको नमुना सामुदायिक अस्पताल लमजुङमा उपचारको
क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका स्कुटर चालक तथा माइक्रोमा सवार गरी १२ जना मध्ये ५ जनाको भोटेओडार अस्पताल प्रालि सिउँडीबार लमजुङ र ३ जनाको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको छ भने ४ जनालाई थप उपचारको लागि सिएमसी अस्पताल भरतपुर रिफर गरिएको छ । प्रहरीले माइक्रो चालकलाई नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।













