धनगढी- प्रदेश लोकसेवा आयोग सुदूरपश्चिम प्रदेशले आफनो द्वितीय वार्षिक प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेश गरेको छ । प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ६६ बमोजिम प्रत्येक आर्थिक वर्षमा गरेका काम कारबाहीको वार्षिक प्रतिबेदन पेश गर्नुपर्ने प्रावधान अनुरुप आयोगले आइतबार प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश गरेको हो ।
आयोगका अध्यक्ष यज्ञराज बोहराले प्रदेश प्रमुख देवराज जोशीलाई द्वितीय वार्षिक प्रतिवेदन हस्तातरण गरेका हुन् । योग्यता, निस्पक्षता र स्वच्छता जस्ता मुल मर्महरुलाई आत्मसात गर्दै आयोगले आफ्नो धर्म र मर्मलाई कहिले नछोड्ने आयोगका अध्यक्ष बोहराले बताए ।
यो विश्वासलाई निरन्तर टिकाई राख्न र सबै सेवाहरुमा त्यसको प्रतिस्थापन गर्नु प्रदेश लोक सेवा आयोगको नेतृत्वको कर्तव्य रहेको उनले बताए ।आस्था र श्रद्धालाई घटन नदिन सबैको जिम्मेवारी रहेको उनले जानकारी दिए ।‘‘यसै मुलमन्त्रलाई आत्मसात गर्दै अगाडि बढने प्रतिवद्धता समेत व्यक्त गर्दछौं’ उनले भने ।’
कार्यक्रममा आयोगका सदस्य लक्ष्मणबहादुर खडका, भागरथी राना, आयोगका सचिव रामहरी ज्ञावलीलगायतको उपस्थिति रहेको थियो ।













