धनगढी- नेपाली काँग्रेसले कारबाही गरेका नेता पुष्करनाथ ओझाले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी घोषणा गरेका छन् । धनगढीमा शुक्रबार पत्रकार सम्मेलनमा ओझाले क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् ।
ओझाले कांग्रेसले कारबाही गर्दा कुनै दुःख नलागेको बताएका छन्। आफू सर्वदलीय हुन खोजेको भन्दै उनले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेको बताएका हुन् ।
उनले भने, ‘म सर्वदलीय हुन चाहन्छु । मैले उठाएको प्रश्न सर्वदलीय होस् । यो एक पार्टीको मात्र समस्या होइन । सबै दलहरुको हो ।’ काँग्रेसबाट जितेर पूर्व राज्यमन्त्रीसमेत रहेका ओझाले प्रवृति विरुद्धको संर्घषको नेतृत्व आफूले गर्ने पनि बताए । उनले भने, ‘कमजोर हुँदा सबैको सहयोग चाहिने, राजनीतिक शक्तिमा पुगेपछि परिवार मात्र चाहिने ?’’धनगढीबाट विद्रोहको सुरुवात भएको बताएका ओझाले ठाउँ सानो भएपनि आयम ठुलो हुने दाबी गरे ।
‘धनगढीका जनता मुठीभर भन्दै थिए । छन, तर क्षमतावान छन्,’’उनले भने, ‘म एक पार्टीको मात्र विद्रोही हैन, कम्युनिष्टमा पनि छन्। कम्युनिष्टमा विद्रोही छन्, तर विरोध गर्न सक्दैनन । सबैको नेतृत्व म गर्छु, कोही तयार छैन, म नलडे कोही लड्दैन । कुनै पनि खालको सम्झौता हुँदैन ।’
उनले नेपाली काँग्रेसले भिलेन बनाएको बताएका छन्। ‘चार पटक चुनाव लड्ने इच्छा गरे, केहीपटक लड्दैन भने, दवाब दिदा पनि लड्दैन भने ।अहिलेका जस्तो रहर कहिलै भएन । अहिले मसँग केही छैन । जुन दलमा सम्पूर्ण जीवन लगाए, उस्को नजरमा म भिलेन छु। त्यसैले त मलाई कारबाही गरेको होला ?’
२०७४ सालको प्रतिनिधिसभा चुनावमा आकांक्षी रहेका ओझा काँग्रेस सभापति शेरबहादुर देउवाले पत्नी आरजु राणालाई टिकट दिएपछि ओझा रुष्ट बनेका थिए । आरजु नेकपा एमालेका नारदमुनी रानासँग पराजित भएपछि चुनावमा असहयोग गरेको भन्दै नेपाली कांग्रेसले उनलाई कारबाही गरेको थियो ।













