धनगढी । ट्राफिक प्रहरीले सुदूरपश्चिम प्रदेशभरी ३९ वटा स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । दसैँ, तिहार तथा छठ पर्व लक्षित ट्राफिक व्यवस्थापन कार्ययोजना अन्तरगत उक्त सहायता कक्ष स्थापना गरिएको हो ।
सवारी आवागमनलाई सुरक्षित र व्यवस्थित गरेर सवारी दुर्घटना तथा क्षतिको न्युनीकरण साथै यात्रुलाई अनावश्यक हैरानीबाट रोक्न यात्रु सहायता कक्ष स्थापना गरेर सेवा दिइरहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका सूचना अधिकारी डिएसपी टेकबहादुर जोराले जानकारी दिए ।
यात्रु सहायता कक्षबाट गर्नुपर्ने कामको कार्ययोजना बनाएर प्रदेशभरी नै लागू गरिएको उनले बताए । यात्रु सहायता कक्षबाट तोकिएको भाडादर भन्दा बढी भाडा लिए नलिएको,टिकटमा उल्लेख भएको सिट यात्रुलाई दिए नदिएको,आरक्षण सिट लक्षित वर्गका यात्रुलाई दिए नदिएको चेकजाँच गरिने डिएसपी जोराले बताए ।
त्यस्तै,लामोदुरीमा सञ्चालन हुने बसमा दुई जना सवारी चालक राखे नराखेको,चालक सहचालकले यात्रुलाई दुव्र्यवहार गरेको छ छैन हेर्ने तथा मापसे चेकजाँच लगायतका काम यात्रु सहायता कक्षले गन उनले बताए ।
दसैँ तिहार लक्षित सुरक्षा योजनामा अहिले थप स्थानीय प्रहरीसँगको समन्वयमा संयुक्त चेकजाँचलाई कडाइ गर्ने,ट्राफिक सचेतनाका पर्चा पम्प्लेट विररण गर्ने,कुनै खतरा छ भने जनतालाई सुसुचित गराउने कार्य गरिने उनले बताए ।
उनले पहाडी रुटमा टाइम कार्ड लागू भएको र त्यसलाई कडाइका साथ लागू गर्ने बताए । सवारी अवस्था पनि चेकजाँच गर्ने,मेलापर्वमा भीडभाड हुने स्थानमा ट्राफिक व्यवस्थापन मिलाउने गरि व्यवस्थापन गरिरहेको उनले बताए । उनले भने ‘सुदूरपश्चिममा दुर्घटना रहित दसैँ,तिहार तथा छठ पर्व हुने छ भन्ने हामीले अपेक्षा गरेका छौँ ।’













