धनगढी । कैलालीमा रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु भएको छ।
बिहीबार साँझ जिल्लाको धनगढी उपमहानगरपालिका–७ जेपी चोक नजिक रोकिराखेको सुदूरपश्चिम प्रदेश ०१–००१ क १६९० नम्बरको ट्रकमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको से ५ प ३४१४ नम्बरको मोटरसाइकल ट्रकको पछाडिको भागमा ठोक्किएको प्रहरीले जनाएको छ।
ट्रकमा मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–१२ बस्ने १८ वर्षीय अनिस सिंह गम्भीर घाइते र उनलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको सुदूपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।
मोटरसाइकल पछाडि सवार सोही ठाउँ बस्ने १९ वर्षीय गणेश कुँवर पनि गम्भीर घाइते भएका थिए। गणेशको उपचारको क्रममा राति ११ः२५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रक र ट्रक चालक चुरे गाउँपालिका–३ बस्ने २९ वर्षीय प्रकाश सिंहलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ।
त्यस्तै,सोही मोटरसाइकलले धनगढी उपमहानगरपालिका–१२ सी गाँउ बस्ने ७० वर्षकी मना पार्कीलाई समेत धनगढी–१२ सी गाउँमा ठक्कर दिई दाहिने हातमा चोट लागेको छ। घाइते पार्कीको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।













