धनगढी । धनगढीबाट पोखरातर्फ जाँदै गरेको यात्रुबाहक बस शनिबार बिहान धनगढीको बोराडाँडीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक राजकुमार सिंहका अनुसार बस चालक फरार रहेको र उनको खोजतलास भइरहेको छ भने बसका सह–चालक घाइते अवस्थामा उपचाररत छन् ।
प्रहरीका अनुसार बसमा सवार यात्रु तथा पैदल यात्री गरी २१ जना दुर्घटनामा परेका छन् । तीमध्ये एक जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको छ ।
दुर्घटनामा धनगढी उपमहानगरपालिका–४ बोराडाँडीका ६० वर्षीय गणेश शाहीको मृत्यु भएको छ । उनको टाउको र छातीमा गम्भीर चोट लागेर मृत्यु भएको हो । शवलाई पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा कैलाली कैलारी गाउँपालिका–१ की २१ वर्षीया सरस्वती चौधरी, कंचनपुर पुनर्वास नगरपालिका–६ का ३२ वर्षीय बिप्लव पोख्रेल, धनगढी उपमहानगरपालिका–५ हसनपुरका २० वर्षीय सुशिल भट्ट, कंचनपुर पुनर्वास नगरपालिका–८ की २७ वर्षीया अस्मिता भट्टराई, सोही स्थानकी ३४ वर्षीया खडानन्द शर्मा, पुनर्वास–६ की २६ वर्षीया अन्जना बिश्वकर्मा,, अन्जनाकी ५ वर्षीया छोरी एलियन बिश्वकर्मा, सोही ठाउँकी ६० वर्षीया लक्ष्मी बिश्वकर्मा, धनगढी उपमहानगरपालिका–१ का ३४ वर्षीय बिधान भण्डारी घाइते भएका छन् ।
यसैगरी धनगढी–५ तारानगरका ३२ वर्षीय मनिस श्रेष्ठ , सोही स्थानकी इन्दु श्रेष्ठ, उनीहरूको छोरी ६ वर्षीया प्रान्सी श्रेष्ठ, डोटी जोरायल गाउँपालिका–१ का २४ वर्षीय घनश्याम ओझा, सोही स्थानका २१ वर्षीय पारस ओझा, कास्की पोखरा महानगरपालिका–१६ का २१ वर्षीय सुनिल परियार र सोही ठाउँकी ४५ वर्षीया मन्जु परियार घाइते भएको प्रहरीले जनाएको छ ।
धनगढी–५ हसनपुरकी ३२ वर्षीया प्रिंयका श्रेष्ठ, पोखरा–१६ का २५ वर्षीय प्रजोल पहाडी, कंचनपुर बेलौरी नगरपालिका–३ की २२ वर्षीया सबिना रोकाया घाइते भएका छन् । उनीहरुको धनगढीस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर र १९ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानअनुसार बस स्कुटीलाई जोगाउने क्रममा सडकबाट अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।















