धनगढी । नयाँ सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा गरेसँगै नयाँ मतदाता नामावलीमा नाम दर्ता गराउन आउनेको भीड लाग्न थालेको छ ।
प्रदेश निर्वाचन कार्यालय धनगढीले असोज १० गतेदेखि मतदाता नामावली दर्ता सुरु गरेपछि नामावली दर्ता गराउन आउनेको भीड लाग्न थालेको हो ।
कार्यालयका अनुसार प्रारम्भिक तथ्याङ्कअनुसार नयाँ मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या उत्साहजनक रहेको छ जनाएको छ ।
प्रदेश निर्वाचन अधिकृत प्रेमराज भट्टले अहिले मतपेटिका सामाग्री चेकजाँचको तयारी र नयाँ मतदाताको नाम दर्ता गर्ने काम भइरहेको बताए ।

आजसम्म एक सय ९९ पुरुष र ८७ महिला गरी दुई सय ८६ जना नयाँ मतादाता थपिएको बताए । निमित्त निर्वाचन अधिकृत भट्टका अनुसार कार्यालयमा दिनहुँ नयाँ मतदाता नामावली दर्ता गर्न आउनेको संख्या बढ्दै गएको छ ।
१३ वटा स्थानीय तह रहेको कैलालीमा ५ वटा निर्वाचन क्षेत्र रहेको छ । गत आव २०८१ को चैत मसान्तसम्म कैलालीमा दुई लाख ६१ हजार ७४८ पुरुष र दुई लाख ७३ हजार ५८४ महिला गरी कुल पाँच लाख ३५ हजार ३४४ मतदाताले मतदाता नामावलीमा नाम दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।













