काठमाडौं । नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायलबाट नेपाल ल्याइँदै छ । आइतबार दिउँसो इजरायली परराष्ट्र मन्त्रालयका पदाधिकारीले इजरायलको बेन गुरियन विमानस्थलमा स्वर्गीय विपिनप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेर शव नेपाल पठाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एपीले जनाएको छ ।
सो क्रममा इजरायलमा रहेका नेपाली समुदाय, विपिनलाई आश्रय दिएको किबुज समुदायले उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए । उनको शव फ्लाइ दुबईमार्फत सोमबार दिउँसो २ः२० बजे काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने र त्यसपछि अन्त्येष्टिका लागि उनको परिवारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको नेपालस्थित इजरायली दूतावासले जनाएको छ ।
इजरायल हमासबिच चलेको दुई वर्ष लामो युद्धविरामपछि हमासद्वारा बन्धक बनाइएका जीवितलाई छोडिएसँगै बन्धक अवस्थामै मारिएकामध्ये केहीको शव हमासले इजरायललाई हस्तान्तरण गरेको थियो । सोही क्रममा पहिलो चरणमा हस्तान्तरण गरिएका चार जनाको शवमध्ये जोशीको पनि इजरायली सरकारलाई हस्तान्तरण गरिएको थियो ।
सन् २०२३ अक्टोबर ७ को बिहानीमा इजरायलमा हमासले गरेको आक्रममणको क्रममा हमासद्वारा बन्धक बनाएर लगिएका विपिन उतै मारिएको समाचार दुई वर्षपछि सार्वजनिक भएको थियो ।















