धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीले तिहारको बेला देउसी,भैलो,नाचगान लगायतका कार्यहरु बढीमा राति ९ बजेसम्ममात्रै गर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले आइतबार एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालद्वारा जारी सूचना देउसी भैलोमा दक्षिणाको लागि रकम तोकी दक्षिणा दिन दवाब नदिने,देउसी भैलो लगायतका कुनै पनि कार्यक्रम गर्दा सार्वजनिक यातायात र जनजीवनलाई असर पर्ने कुनै पनि गतिविधि नगर्न/नगराउन अनुरोध गरिएको छ ।
‘पटाका,आतिसबाजी जस्ता प्रज्वलनशील एवं बिष्फोटक पदार्थ उत्पादन,ओसारपसार,बिक्री वितरण र प्रयोग नगर्ने/नगराउने’ सूचनामा भनिएको छ ‘मादकपदार्थ लगायतका नशालु पदार्थ सेवन गरि सार्वजनिक स्थलमा होहल्ला,झैझगडा वा अन्य शान्ति सुरक्षामा असर पर्ने खालका कुनैपनि गतिविधि नगर्ने/नगराउने ।’
जारी सूचनामा शुभ दिपावली,नेपाल संवत् लगायतका महत्वपूर्ण पर्वका अवसरमा जिल्लाबासीमा शुभकामनासमेत व्यक्त गरिएको छ ।
समाजमा आपसीसद्धभाव ,प्रेम,एकता र सहअस्तित्वको प्रतीकका रुपमा रहेका यसप्रकारका विभिन्न चाडपर्वलाई आपसी सम्मान,सहयोग र समझदारीका साथ मनाउनु साझा सांस्कृति विशेषता भएको सूचनामा उल्लेख छ ।
सूचनामा भनिएको छ ‘पर्वहरु मनाउँदा सार्वजनिक सम्पतिको संरक्षण,सरसफाई,ध्वनी प्रदुषण नियन्त्रण र स्वास्थ्य सतर्कता अपनाउँदै सुव्यवस्थित ढंगले मनाउन हुन सम्पूर्ण जिल्लाबासीमा हार्दिक अनुरोध छ ।’













