धनगढी । कञ्चनपुरको पुनर्वास नगरपालिकाको कार्यालयमा जेनजी आन्दोलनका क्रममा ठूलो क्षति भएको छ । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट क्षति भएको हो ।
भौतिक संरचना लगायतमा भएको क्षतिका कारण सेवा प्रवाहमा समेत समस्या भइरहेको नगारपालिकाले जनाएको छ । विभिन्न समस्याका बावजुद नगरपालिकाले सेवा प्रवाह गरिरहेकको छ ।
आन्दोलनका क्रममा पालिकामा करिब साढे पाँच करोडको क्षति भएको प्रमुख प्रशासकीय अधिकृत तिलकप्रसाद रिजाल जानकारी दिए । उनले भवनहरुमा ठूलो क्षति भएको बताए ।
उनले भने ‘आगजनीले कार्यालयका सबै शाखाहरु बस्न नमिल्ने अवस्थामा छन् । एउटा हल राम्रो रहेको थियो । त्यसैमा सबै शाखाहरु राखेर कामकाज गरिरहेका छौँ ।’
दाताहरुबाट प्राप्त सामग्रीबाट जसोतसो सेवा प्रवाह भइरहेको उनले बताए । उनले भने ‘फाइल,कम्प्युटर,ल्यपाप्ट,फर्निचरलगायत सबै जलेका छन् । विभिन्न संघसंस्था, व्यक्तिबाट प्राप्त भएका कम्प्युटर,ल्याप्टप,फर्निचर,सोफा लगायतबाट काम चलाइरहेका छौँ ।’















