डडेल्धुरा । सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा यस वर्ष पनि परम्परागत ‘देहीजाँत’ (उग्रतारा) मेला भव्य रूपमा लाग्ने भएको छ। डडेल्धुराको अमरगढी नगरपालिका–८ मा अवस्थित यस मन्दिरमा आज मंगलबार राति ‘रतेडी मेला’ र भोलि बुधबार दिउँसो ‘दिउँसेडी मेला’ लाग्ने उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले जानकारी दिए।
सदियौं देखि निरन्तर लाग्दै आएको यो मेला सुदूरपश्चिम प्रदेशकै प्रतिष्ठित धार्मिक तथा सांस्कृतिक मेलामध्ये एक मानिन्छ। स्थानीयस्तरमा ‘देहीजाँत’ नामले चिनिने यस मेलामा सुदूरपश्चिमका नौ भगवतीमध्येको एक शक्तिपीठ उग्रतारा भगवती माताको पूजा–आराधना गरिन्छ।
मेलामा डडेल्धुराका छचोडा, खनमडा, दुमडा र जिलोडा गाउँबाट भगवती माताको ‘देउरो’ लिएर बिहानै मन्दिरमा डोलीसहित भक्तजन पुग्ने परम्परा रहेको क्षेत्रविकास समितिका अध्यक्ष साँकीले बताए । देउरो पुगेपछि औपचारिक रूपमा ‘दिउँसेडी मेला’ सुरु हुन्छ।
मन्दिरमा बिहान सबेरैदेखि नै दाइन दमाह, रुइसिङ्ग, विकुल, भोकर, शङ्ख र घण्टा बाजागाजाका साथ भगवती माताको पूजा आरम्भ हुने अध्यक्ष साँकीले बताए। मन्दिरमा दर्शन र पूजा गर्न सुदूरपश्चिम, कर्णाली र भारतका विभिन्न स्थानहरूबाट हजारौँ भक्तजन पुग्ने गर्छन्।















