काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले अबको पार्टी नयाँ विचारधारा भएका युवा पुस्ताले हाँक्नुपर्ने बताएका छन् । आज ललितपुरको एक क्याफेमा पत्रकार सम्मेलन गर्दै उनले वैचारिक रूपमा अगाडि बढाउने युवालाई आफूहरूले साथ दिने बताए ।
उनले युवालाई आफूहरूले अभिभावक भएर सल्लाह सुझाव दिने बताए । उनले राजनीतिक अस्तित्व समाप्त पार्ने खेलाडीहरूप्रति आफू सधैँ सजग रहेकोसमेत उल्लेख गरे । आफू पदको लोभी नभएको उल्लेख गरेका छन् ।
उनले पदको लोभी भएको चर्चा गरिएकोले आफू पदको लोभी नभएको र सहिद परिवार र अन्य युवालाई अगाडि सार्ने उल्लेख गरे ।
‘हामीले नेतृत्वको दाबी गरेका छैनौँ । यहाँ उपस्थित हुनुभएका सहिद परिवार र नयाँ पुस्ताका साथी नै अबको नेतृत्व हो ।’ उनले भने, ‘हामी भिन्न रूपले राजनीतिलाई अगाडि बढाउन चाहन्छु । हामी नेतृत्वको दाबी गर्दैनौं हामी अभिभावक भएर सल्लाह र सुझाव दिन्छौँ ।’















