धनगढी । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड),विन्डपावर नेपाल र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहकार्यमा सिचाइ योजनाका लागि डिजिटल नवप्रवर्तन सम्बन्धी सुदूरपश्चिम प्रदेशस्तरीय अभिमुखीकरण सम्पन्न भएको छ ।
बुधबार धनगढीमा सम्पन्न अभिमुखीकरणमा ‘पेओर प्लेटफर्म’मार्फत सिंचाइ योजना बनाउन सकिने सम्भावनाका बारेमा सरोकारवालासँग छलफल गरिएको थियो ।
अभिमुखीकरणमा इसिमोडका उर्जा विशेषज्ञ सुजन नेपालीले पेओर प्लेटफर्मका बार जानकारी गराउँदै ‘पेओर प्लेटफर्म’ को प्रयोगलेखछोटो समयमा,कम जनशक्तिको प्रयोगमा सिचाइको योजना निर्माणमा सहज हुने बताए ।
पेओर प्लेटफर्मको प्रयोगले सिचाइका योजना छनोट तथा बजेट निर्माणलगायतमा सजिलो बनाउने वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका वरिष्ठ अधिकृत अविनास अमरले बताए ।
विन्ड पावर नेपालका कुशल गुरुङले नेपालमा सोलारको सम्भावना बढी भएकाले सोलार लिफ्टिङ सिचाइ योजना प्रभावकारी हुने बताए ।
उनले हाल नेपालमा ३५ प्रतिशत खेतीयोग्य जमीनमा मात्रै सिचाइको पहुँच रहेको बताए ।
अभिमुखीकरणमा बोल्दै पूर्वाधार विकास मन्त्रालयका निमित्त प्रदेश सचिव मोहनबहादुर कुँवरले पेओर प्लेटफर्म प्रयोगका लागि मन्त्रालयल प्रयास गर्ने बताए ।
हाल नेपालको सिचाइ प्रणाली परम्परावादी रहेको बताउँदै यसलाई प्रविधिमैत्री बनाउँदै लैजान आवश्यक भएको उनले बताए ।
अभिमुखीकरण कार्यक्रममा प्रदेश सरकार मातहतका सिचाइ कार्यालयका प्रतिनिधि,स्थानीय तहका कृषि शाखाका प्रतिनिधिलगायत सरोकारवालाको सहभागिता रहेको थियो













