धनगढी । सुदूरपश्चिम प्रदेश सभाका सदस्य एवं सामाजिक विकास समितिका सभापति धर्मराज पाठकले सहकारी क्षेत्रमा देखा परेका समस्या समाधान गर्न नियमन गर्नुपर्ने आवश्यकता देखिएको बताएका छन् ।
उपभोक्ता हित संरक्षण मञ्च नेपालले शुक्रबार धनगढीमा आयोजना गरेको सहकारी क्षेत्रका समस्या समाधानका लागि सरोकारवाला बीच प्रदेश स्तरीय समन्वय बैंकमा बोल्दै उनले सहकारी क्षेत्रमा राज्यको तर्फबाट नियमन जरुरी रहेको बताए ।
सभापति पाठकले सहकारीमा आवद्ध सदस्यहरुलाई केन्द्र भागमा राखेर उत्पादन क्षेत्रलाई जोड दिनुपर्ने बताए । सहकारीले बढी पैसा संकलनलाई मात्र ध्यान दिएकोले सहकारीका सिद्धान्त बारे जानकारी दिन आवश्यक रहेको उनले बताए ।
राज्य पुनरसंरचनामा गइसकेपछि सहकारीमा झन अन्योल देखा परेकोले त्यसमा देखा परेका समस्या समाधन गर्न आवश्यक देखिएको उनले बताए ।
कार्यक्रममा सहकारी अभियन्ता भुपेन्द्र थापाले स्थानीय तहमा सहकारी दर्ता हुने क्रम बढेपनि त्यसलाई नियमन गर्न नसकेको बताए । उनले स्थानीय तहमा सहकारी हेर्ने कर्मचारीको अभाव देखिएसँगै सहकारीमा आवद्ध सदस्यहरुलाई आवश्यक तालिम, सहकारी ज्ञानको अभाव देखिएकोले त्यसलाई व्यवस्थापन गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय संघका सञ्चालक दिप्ती शाहीले एक÷दुई सहकारीले गलत गरेपछि सबैलाई उस्तै रुपले हेरिनु गलत भएको बताइन् । उनले सहकारी सिद्धान्त अनुसार सहकारी सञ्चालन भएनभएको अनुगमन गर्न आवश्यक रहेको बताउदै सुदूरपश्चिमका सयहकारीको यकिन तथ्यांक पनि संकलन हुन नसक्नु बिडम्बना भएको बताइन् ।
कार्यक्रममा डण्डिराज सुवेदीले सहकारी क्षेत्रमा देखिएका समस्या समाधनका लागि सहकारीकर्मी जाग्नुपर्ने बताए । कार्यक्रममा सहजिकरण उपभोक्ता हित संरक्षण मञ्च नेपाल सुदूरपश्चिम प्रदेशका सचव भोजराज जोशीले गरेका थिए ।















