धनगढी । कैलालीसँग सीमा जोडिएको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र पौने एक किलो चाँदीसहित चार नेपाली पक्राउ परेका छन् । उनीहरुलाई भारतीय प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले ६१६.९ ग्राम (५२.९) तोला सुन र ७८०.८ ग्राम चाँदी बरामद गरेको जनाएको छ। पक्राउ पर्नेमा २५ वर्षीय दीपक नरसिंह, ३७ वर्षीय भुवनसिंह चलाउने, ४७ वर्षीय जीवनकुमार थारु र ५६ वर्षीय खेमराज कुलपति देवकोटा रहेको जनाइएको छ । उनीहरूको नेपाली ठेगाना भने सार्वजनिक गरिएको छैन।
भारतको महाराष्ट क्राइम ब्रान्चबाट खटिएको प्रहरी टोलीले बिओपी गौरीफन्टा चेकपोस्टमा तैनाथ प्रहरीको सहयोगमा उनीहरूलाई पक्राउ गरेको जनाइएको छ। चारैजनालाई थप अनुसन्धानका लागि क्राइम ब्रान्च र गौरीफन्टा प्रहरीले भारतको खिरी जिल्लामा पठाएको बताइएको छ ।













