काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुराले खारेज गरिदिएको छ ।
मतदाता नामावलीमा र नागरिकतामा देउवाको जन्ममिति फरक रहेको भन्दै कांग्रेस बीपीका उम्मेदवार कर्ण मल्ले उजुरी दिएका थिए ।
नागरिकता र मतदाता परिचयपत्रमा भएको जन्ममितिमा साल फरक रहेको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए । ‘उहाँको ९देउवाको० जन्ममितिमा साल फरक देखियो । नागरिकतामा भएको जन्ममिति मतदाता परिचयपत्रमा सार्दा गल्ति भएको देखियो,’ वाग्लेलेले भने, ‘निर्वाचन कानुनअनुसार नागरिकताको सदर हुने देखियो ।’
देउवाको नागरिकतामा जन्ममिति ३१ जेठ २००३ छ । मतदाता नामावलीमा भने जन्ममिति ३१ जेठ २००२ लेखिएको छ । ‘उजुरीकर्ताको उजुरी कानुनसंगत देखिएन त्यसैले उजुरी खारेज भएको छ,’ मुख्य निर्वाचन अधिकृत वाग्लेले भने ।
मल्लले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए । त्यसको जवाफ मंगलबार देउवाको तर्फबाट उनकी पत्नी कांग्रेस केन्द्रीय सदस्य आरजु देउवाले लिखित रूपमा दिएकी थिइन् ।













