घोडाघोडी- कैलालीको घोडाघोडी नगरपालिका १ जनकपुरमा शनिबार बिहान विश्वमै संरक्षित प्रजाति सुनगोहोरो फेला परेको छ । स्थानीय पुतली सापकोटाको खेतमा धान काट्दै गर्दा स्थानीयले बिस्तारै हिँड्दै गरेको अवस्थामा सुनगोहोरालाई देखेका थिए । धान काट्दै गर्दा सुनगोहोरो देखेका स्थानीय नवीन पुरीले महत्त्वपूर्ण प्रजातिजस्तो लागेपछि खबर इलाका वन कार्यालय, सुखडको समूह सुरक्षित उद्धारका लागि स्थलगत क्षेत्रमा पुगेको थियो ।
डिभिजन वन कार्यालय पहलमानपुरका डिभिजन प्रमुख गोकुल रिजालले संकाटपन्न प्रजातिको रूपमा रहेको सुनगोरोलाई उद्धार गरी सुरक्षित स्थानमा छोडिने बताए। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले घस्रने जातका जन्तुअन्तर्गत सुनगोहोरालाई अधिक चोरी सिकार र अवैध व्यापार हुने प्राणीको सूचीमा राखेको छ ।
सुनगोहोरोको चोरीसिकारी र अवैध व्यापार गर्नेलाई कडा सजायको कानुनी व्यवस्था समेत गरेको विभागले जनाएको छ । स्थानीय संरक्षणकर्मी दयाराम चौधरीले जङ्गल र पानी भएको क्षेत्रमा बस्ने सुनगोहोरो अण्डा दिनका लागि सुरक्षित स्थान खोज्दै खेतमा पुगेको हुनसक्ने बताए।
उनले अण्डा दिने समयमा शरीर भारी हुने र धेरै दौडन नसक्ने भएकाले खेतमा किसानले सहजै देख्न सकेको समेत उल्लेख गरे । नेपाललगायत भारत, बङ्गलादेश, म्यान्मा र पाकिस्तानमा मात्र पाइने सुनगोरो तराईक्षेत्रमा पाइन्छ । १५ देखि २० वर्षसम्म बाच्ने सुनगोहोरोको आकारअनुसार आठदेखि तीसवटासम्म अण्डा दिने बताइएको छ । आईयुसिएनले सङ्कटापन्न सूचीमा राखेको सुनगोहोरो संरक्षणमा नेपालले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन १९७३ अन्तर्गत हेर्दै आएको छ ।













