धनगढी । प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट कैलाली निर्वाचन क्षेत्र नं ३ का उम्मेदवार बीरमान चौधरीले चुनावी अभियानलाई आक्रामक बनाएका छन ।
उनले घरदैलो अभियानका क्रममा गाउँबस्ती टोलमा गएर जनताका समस्याका बारेमा छलफल गरिरहेका छन ।
घरदैलोका क्रममा आज उम्मेदवार चौधरीले कैलारी गाउँपालिका-५ बैजपुरमा स्थानीयसँग प्रत्यक्ष छलफल गर्दै जनताका समस्याका बारेमा जानकारी लिएका छन ।
उम्मेदवार चौधरीलाई स्थानीयले लालपुर्जा उपलब्ध गराउनुपर्ने, कटैनी नदी कटानको समस्या समाधान,छाडा पशुचौपाया व्यवस्थापन गर्नुपर्ने,कृषि विधुत लाइन विस्तार गर्नुपर्नेलगायत माग राखेका थिए ।
स्थानीय माग सम्बोधन गर्दै चौधरीले जनताले राखेका मागलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने “बिगतमा पनि जनताकामाझ रहेर विभिन्न विकास निर्माणलगायतका काम गरेको छु । फेरि पनि जनताका आधारभूत आवश्यकता परिपूर्ती सक्दो पहल गर्छु ”
उनले विकास,समृद्धि र सुशासनका लागि आफ्नो उम्मेदवारी रहेको बताउँदै आफू निर्वाचित भए जनताका समस्या हल गर्न तदारुकताका साथ लाग्ने बताए ।
उनले विकास र समृद्धि नेकपाबाट मात्रै सम्भव हुने बताउँदै कैलाली ३ बाट जनताको साथ पाउने विश्वास व्यक्त गरे ।
घरदैलोका क्रममा जनताबाट अपार माया र सद्भाव पाइरेकाले आफू निर्वाचित हुनेमा ढुक्क रहेको दाबी गरे ।













