दार्चुला। नेपाल कम्युनिष्ट पार्टी एमाले दार्चुलाका उम्मेदवार गणेश सिंह ठगुन्नाले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत महाकाली नगरपालिका–६ पौन्याखोला, निसिलमा चुनावी भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। कार्यक्रममा स्थानीय जनता, अगुवा कार्यकर्ता तथा शुभचिन्तकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
भेटघाटका क्रममा उम्मेदवार ठगुन्नाले जनताबाट प्राप्त अटुट विश्वास र मायाप्रति आभार व्यक्त गर्दै दार्चुलाको समग्र विकासलाई आफ्नो प्रमुख लक्ष्य बनाएको बताए। महाकाली कोरिडोरअन्तर्गत दार्चुला–तिंकर सडकको पूर्णता, गोकुलेश्वर विमानस्थल निर्माण तथा जिल्लामा रोकिएका विकास योजनालाई तीव्रता दिने प्रतिबद्धता उनले दोहोर्याए।
स्थानीयले पनि विकासका एजेण्डा पूरा गर्न सक्षम नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै ठगुन्नालाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। संघीय सरकारमार्फत थप बजेट तथा योजना ल्याउन सक्ने प्रतिनिधिको रूपमा उनलाई अघि सारिएको जनविश्वास व्यक्त गरिएको छ।
यसै अवसरमा नेपाली काँग्रेस परित्याग गरी ९ जना नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेका छन्। करन सिंह भाट, मोहन सिंह ठगुन्ना, गोविन्द सिंह ठगुन्ना, हरक सिंह ठगुन्ना, परजित सिंह ठगुन्ना, राम सिंह ठगुन्ना, आन सिंह कुँवर, नरेश सिंह कुँवर तथा गम्भीर सिंह धामी (नेपाल कम्युनिस्ट पार्टी त्यागेर) लाई उम्मेदवार ठगुन्नाले खादा तथा टीका लगाई ससम्मान पार्टीमा स्वागत गरेका थिए।
दार्चुलामा एमालेप्रति बढ्दो आकर्षण र जनसमर्थनले आगामी निर्वाचनमा सकारात्मक परिणाम आउने विश्वास व्यक्त गरिएको छ ।













