धनगढी । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले आफु जनताको काम गर्न आएको हो कुनै पनि राजनीतिक दलको पक्षमा नलागेको स्पष्ट पार्नुभएको छ।
विभिन्न मिडियामा आफूले कुनै खास दल वा उम्मेदवारलाई समर्थन गरेको भन्ने समाचार प्रकाशित भएपछि उहाँले ती समाचारमा कुनै सत्यता नभएको बताउनुभएको हो।
उहाँले आफ्नो फेसबुक पेजमार्फत भन्नुभयो, “२०८२ फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको विषयसँग मलाई जोडेर ‘पत्रिका नेपाल’ लगायतका मिडियाले बनाएका समाचारमा कुनै पनि सत्यता छैन। सम्पूर्ण नगरवासीमा यो जानकारी गराउँछु।”
यसअघि पनि मेयर हमालले पटक-पटक आफूले कुनै राजनीतिक दल वा उम्मेदवारलाई समर्थन नगरेको दोहोर्याउँदै आउनुभएको छ। धनगढीका मतदाताले पाँच वर्षका लागि निर्वाचित गरेको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने उहाँको अडान छ।
उहाँले फागुन २१ को निर्वाचन र त्यसपछिका दिनहरूमा पनि स्वतन्त्र रहँदै धनगढीका जनताले सुम्पेको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
साथै, भ्रामक तथा निराधार समाचारमा नपत्याउन सम्पूर्ण नगरवासीलाई आग्रह गर्नुभएको छ। मेयर हमाल स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएर आएका हुन् र उहाँले जनताको पक्षमा काम गर्ने अठोटलाई निरन्तरता दिँदै राजनीतिक दलको प्रभावबाट टाढा रहने बताउँदै आउनुभएको छ।

















