काठमाडौं – बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न ४ दिनको म्याद थप भएको छ ।
जिल्ला अदालत काठमाडौंले तेस्रो पटक थप ४ दिनको म्याद थपेको हो । प्रहरीले सन्दीपमाथि अनुसन्धान नसकेकाले तेस्रो पटक ७ दिनको म्याद थप्न अदालत लगेको थियो तर अदालतले ४ दिनमात्रै म्याद थप गरेको सन्दीपका वकिल सरोज कृष्ण घिमिरेले बताए ।
२० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका उनीमाथि यसअघि २४ असोज र २७ असोजमा अनुसन्धानका लागि म्याद थप गरिएको थियो । पछिल्लो पटक २७ असोजमा अदालतले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।
लामिछानेमाथि १७ वर्षीया किशोरीले बलात्कार आरोपमा जाहेरी दिएपछि क्याप्टेनबाट निलम्बनमा परेका थिए, भने प्रहरीले असोज २० गते विमानस्थलबाटै पक्राउ गरेको थियो ।















