धनगढी । ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनले धनगढी उपमहानगरपालिकाले गरेको विकास स्थानीय पालिकाका लागि असल अभ्यास हुन सक्ने बताएका छन् ।
धनगढी उपमहानगरपालिकामा आइतबार आयोजित ‘ई–वेस्ट प्रोसेसर ट्रेनिङ’ उद्घाटन कार्यक्रममा सहभागी हुन यहाँ आइपुगेका नगरप्रमुख महर्जनले धनगढीको विकासको प्रशंसा गरे ।
उनले भने ‘यहाँको सडक बत्ति साह्रै सुन्दर छ । तराइका पालिकाहरुले यस्तै किसिमको बत्तिको व्यवस्थापन गर्न सकेको खण्डमा एकदमै राम्रो हुन्छ भन्ने मेरो ठम्म्याइ रहेको छ ।’
३ वर्ष अगाडि धनगढी आएको समरण गर्दै नगरप्रमुख महर्जनले भने ‘त्यो बेला सडकमा परेको घरहरु भत्काउने काम भइरहेको थियो । त्यो बेलाको अवस्था हेर्दा त्यति राम्रो थिएन् । अहिले त्यसको नतिजा देखिएको छ । अहिले धनगढी अति सुन्दर देखिएको छ ।’
नगरप्रमुख महर्जनले ललितपुर महानगरमा मुलुकमै पहिले स्मार्ट स्ट्रिट लाइटको सुरुवात गरेको बताए । उनले भने ‘हामी कहाँ सडक कच्याककुचुक,उकालो ओरालो,बेन्डिङ छ । यहाँको अवस्था हेर्दा एकदम सुन्दर लाग्यो ।’ उनले धनगढीका नगरप्रमुख गोपाल हमालले सडक बत्तिका बारेमा आफूसँग पनि सरसल्लाह समेत गरेको बताए ।



















