अत्तरियामा बजार अनुगमन,अखाद्य वस्तु नष्ट
धनगढी । कैलालीको अत्तरिया बजार क्षेत्रमा उपभोक्ता हित संरक्षणलाई लक्षित गर्दै बजार अनुगमन गरिएको छ ।
गोदावरी नगरपालिकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीसँगको सहकार्यमा आइतबारदेखि औपचारिक रूपमा अनुगमन अभियान सुरु गरेको हो ।
नगरपालिकाका उपप्रमुख शारदादेवी रोकायाको संयोजकत्वमा गरिएको अनुगमन टोलीले अत्तरिया बजारका विभिन्न पसल तथा व्यवसायिक प्रतिष्ठानहरूमा छड्के जाँच गरेको थियो ।
अनुगमनका क्रममा म्याद नाघेका तथा मानव स्वास्थ्यका लागि हानिकारक ठहरिएका विभिन्न वस्तुहरू फेला परेपछि तत्काल जफत गरिएको नगरपालिकाले जनाएको छ ।
उपप्रमुख रोकायाले उपभोक्ता अधिकार संरक्षण ऐन अनुसार नगरपालिकाले नियमित रूपमा अनुगमन गर्दै आएको बताउँदै यो अभियानलाई अझ सशक्त बनाइने जानकारी दिइन् । उनका अनुसार अनुगमन केवल अत्तरिया बजारमा मात्र सीमित नरहेर स्याउले, गेटा लगायतका अन्य बजार क्षेत्रमा पनि क्रमशः विस्तार गरिनेछ ।
आज गरिएको अनुगमनका क्रममा ३८ वटा पसलहरूमा जाँच गरिएको हो । सो क्रममा करिब ७० हजार १८० रुपैयाँ बराबरका म्याद नाघेका तथा अखाद्य सामग्रीहरू फेला परेको आर्थिक विकास शाखाका अधिकृत लोकबहादुर खड्काले जानकारी दिए ।
जफत गरिएका सबै सामग्रीहरू नगरपालिकाको वडा नं. ३ स्थित फोहोरमैला व्यवस्थापन केन्द्रमा लगेर सुरक्षित रूपमा नष्ट गरिएको हो ।













