धनगढी । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले वर्तमान सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै सरकार गलत दिशामा अघि बढिरहेको आरोप लगाएका छन्।
प्रेस चौतारी नेपाल कैलालीद्वारा धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महरले सरकार सन्तुलित ढंगले अघि बढ्न नसकेको टिप्पणी गरे। उनले भने, “यो सरकार र पार्टीलाई असफल हुने छुट छैन, तर कामकारबाही सन्तुलित देखिँदैन। सरकार टाउकोले टेकेर उल्टो बाटोमा हिँडिरहेको छ, यस्तो अवस्थामा गन्तव्यमा पुग्न सकिँदैन।”
महरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पुस्तान्तरणको मुद्दा उठाएर जनमत प्राप्त गरे पनि पछिल्ला गतिविधिहरू सन्तोषजनक नरहेको बताए। उनले सरकारका प्रारम्भिक कदमहरूले लोकतन्त्र, सामाजिक न्याय र राष्ट्रियताप्रति प्रतिबद्धता नदेखाएको आरोप लगाए।
विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने प्रतिबद्धता कार्यान्वयनमा सरकार कमजोर देखिएको भन्दै उनले प्रश्न उठाए, “आज पनि दैनिक रूपमा नेपाली विदेश गइरहेका छन्। १०० दिनभित्र नेपाली फर्काउने प्रतिबद्धता कहाँ पुग्यो?”
उनले सरकारसँग स्पष्ट आर्थिक योजना अभाव रहेको र शिक्षा, स्वास्थ्य लगायतका आधारभूत क्षेत्रमा पर्याप्त ध्यान नदिएको बताए। साथै, पूर्वाग्रहका आधारमा प्रतिशोधपूर्ण गतिविधि भइरहेको आरोप लगाउँदै कानुनी शासनको उपहास भएको दाबी गरे।
“केवल ३२ दिनमै दुई मन्त्री परिवर्तन हुनुले सरकारको अस्थिरता झल्काउँछ,” महरले भने, “सांसदहरूको अभिव्यक्तिले समेत जनतामा वितृष्णा बढाइरहेको छ।”
सुकुम्बासी बस्तीमा गरिएको बल प्रयोगप्रति असन्तुष्टि जनाउँदै उनले वास्तविक सुकुम्बासीहरूको पहिचानपछि मात्र व्यवस्थापन गर्नुपर्ने धारणा राखे। सरकारको पछिल्लो रवैयाले जनतामा थप सास्ती बढ्ने संकेत गरेको भन्दै उनले संसद र सडक दुवैबाट सशक्त रूपमा आवाज उठाउने चेतावनी दिए।
“संविधानले दिएको अधिकारको रक्षा गर्न हामी प्रतिबद्ध छौं। संसदमा कुरा नसुनेमा सडकबाट पनि आवाज उठाउँछौं,” उनले भने।
संसद बैठक बोलाएर समेत स्थगित गरिएकोप्रति आपत्ति जनाउँदै उनले सरकार आलोचना सहन नसक्ने अवस्थामा पुगेको आरोप लगाए। उनले संसदीय दलमार्फत सरकारको कडाइका साथ निगरानी गर्ने र जनताका मागहरू संसदमा उठाइरहने बताए।
अन्त्यमा, नेकपा एमालेभित्र आन्तरिक विवाद रहेको भन्ने हल्ला अस्वीकार गर्दै उनले पार्टी सुदृढ र स्थिर रहेको दाबी गरे। “भर्खरै सम्पन्न ११औं महाधिवेशनपछि पार्टीभित्र नियमित छलफल भइरहेको छ। बाहिर सुनिएजस्तो कुनै गम्भीर विवाद छैन,” उनले स्पष्ट पारे।



















