धनगढी । लम्कीचुहा नगर अस्पतालको विषयलाई लिएर लम्कीचुहा नगरपालिकाका मेयर सुशीला शाहीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहमाथि गम्भीर आरोप लगाउँदै सार्वजनिक बहसको खुला चुनौती दिएकी छन्।
मेयरले प्रदेश सरकारले अस्पताल निर्माण र सञ्चालनको विषयलाई राजनीतिकरण गरेको आरोप लगाउँदै मुख्यमन्त्री शाहको “अहंकारी र स्वेच्छाचारी प्रवृत्ति” का कारण अस्पताल परियोजना नै प्रभावित भएको बताइन।
उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक वक्तव्य जारी गर्दै प्रदेश सरकारले नगरपालिकासँग कुनै समन्वय नगरेको दाबी गरेकी छन्। “मुख्यमन्त्रीज्यूले अस्पताल निर्माणबारे कुनै दिन नगर प्रमुखलाई फोन गर्नुभयो? कुनै औपचारिक पत्र पठाउनुभयो?” भन्दै उनले प्रमाण सार्वजनिक गर्न चुनौती दिएकि छन्।
मेयरले आफू अस्पताल निर्माणको विरोधमा नभएको स्पष्ट पार्दै भनिन, “मेरो पालिकाभित्र अस्पताल बन्नु गौरवको विषय हो, त्यसको जस पनि मलाई नै आउँछ ।” तर सुरुदेखि नै अस्पताललाई “रणभूमि” बनाइनुमा प्रदेश सरकारको स्वार्थ रहेको उनको आरोप छ।
उनका अनुसार अस्पताल सञ्चालनका लागि नगरपालिकाले चार बुँदे प्रस्ताव अघि सारेको थियो। जसमा
नगरपालिकासँग MOU गर्नुपर्ने,सर्वपक्षीय तथा विषयगत समिति गठन गर्नुपर्ने,आर्थिक आय–व्ययको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारले लिखित रूपमा लिनुपर्ने,नगर अस्पतालका कर्मचारीहरूको उचित समायोजन सुनिश्चित गर्नुपर्ने माग समावेश छन्।
मेयरले धनगढीमा प्रदेश सरकारका प्रतिनिधिहरूसँग भएको बैठकमा यी विषयमा सहमति जुटेको दाबी गर्दै उक्त बैठकको माइन्यूट सार्वजनिक गर्न माग गरेकी छन्।
साथै उनले प्रदेश सरकारले एकलौटी रूपमा गठन गरेको सञ्चालक समिति अस्वीकार्य रहेको जनाउँदै सर्वपक्षीय समिति गठनको माग दोहोर्याएकि छन्।
मेयर शाहीले आफू कानुनी र प्रशासनिक प्रक्रियाअनुसार काम गरिरहेको बताउँदै मुख्यमन्त्री शाहलाई सार्वजनिक बहसमा आउन चुनौती दिएकी छन्। “यदि मैले अस्पताल बन्न नदिएको प्रमाणित भयो भने जनतासमक्ष माफी माग्न तयार छु,” उनले भनेकी छन्।
अन्त्यमा उनले प्रदेश सरकारलाई जनतालाई दिग्भ्रमित पार्ने राजनीति बन्द गरी समस्याको समाधानतर्फ केन्द्रित हुन आग्रह गरेकी छन्।













