धनगढी । धनगढी उपमहानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्ने अभियानलाई फेरि सुरु गर्ने भएको छ ।
धनगढी- ८ स्थित सेतो पुल नजिकै सरकारी जग्गा अतिक्रमण गरी बनाइएका अवैध संरचना हटाउन ७ दिने सार्वजनिक सूचना जारी गरेको छ ।
वडा नं. ८ को मुख्य सडक क्षेत्रमा पर्ने कित्ता नम्बर ६५ को १३,६४५.२५ वर्गमिटर जग्गा (साविक त्रिनगर २ क को कित्ता नं. २३२ र २३४०) मा नेपाल सरकारको अनुमति विना भौतिक संरचना निर्माण गरिएको उपमहानगरले बुधवार जारी गरेको सूचनामा उल्लेख छ ।
‘उक्त स्थानमा रहेका अतिक्रमित संरचनाहरू यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र आफै हटाउन सूचित गरिन्छ ’ प्रमुख प्रशासकीय अधिकृत जनकराज भट्टद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ- ‘तोकिएको समयभित्र अवैध संरचना नहटाएमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा प्रचलित कानुन अनुसार डोजर चलाएर संरचना भत्काइने र कानुन बमोजिम कारबाही गरिने छ ।’
धनगढी उपमहानगरपालिकाले यसअघि पनि नगर क्षेत्रभित्र मिचिएका विभिन्न सार्वजनिक जग्गा, सडक किनारा र ताल तलैयाहरू खाली गराइसकेको छ ।
नगरप्रमुख गोपाल हमालको नेतृत्वमा सुरु भएको यो अतिक्रमण हटाउने अभियानलाई नगरबासीले सकारात्मक रूपमा लिँदै आएका छन्।













