धनगढी । धनगढी उपमहानगरपालिकाले गंगादशहरा पर्वको अवसरमा भोलि जेठ १२ गते मंगलबार नगर क्षेत्रभित्र स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
उपमहानगरपालिकाले एक सूचना जारी गर्दै गंगादशहरालाई सुदूरपश्चिमकै ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पर्वका रूपमा उल्लेख गर्दै नगरभित्रका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्था तथा संघसंस्थामा बिदा रहने जनाएको हो ।
प्रमुख प्रशासकीय अधिकृत जनकराज भट्टद्वारा जारी सूचनाअनुसार नगर कार्यपालिकाको २०८१ साउन ३१ गतेको निर्णय बमोजिम हरेक वर्ष जेठ शुक्ल पक्ष दशमीका दिन मनाइने गंगादशहरा पर्वमा सार्वजनिक बिदा दिइँदै आएको छ। यस वर्ष उक्त तीथि जेठ १२ गते परेको छ।
गंगादशहराका अवसरमा धनगढी उपमहानगरपालिका-१६ स्थित बेहडाबाबा मन्दिरमा नेपाल तथा भारतका हजारौँ श्रद्धालु भक्तजन दर्शनका लागि आउने गर्दछन्। धार्मिक आस्था, सांस्कृतिक पहिचान तथा पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिँदै बेहडाबाबा क्षेत्रलाई प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित उपमहानगरपालिकाले हरेक वर्ष एक दिन सार्वजनिक बिदा दिने व्यवस्था गरेको जनाएको छ।



















