अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित थापामोडमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।शुक्रबार साँझ करिब ६ः५० बजे दार्चुलाबाट जुम्लातर्फ जाँदै गरेको जनकपुरस्थित सत्लोक आश्रमको बा.प्र.०१–०२७ च २२७७ नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको थियो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका मकवानपुरको हेटौँडा उपमहानगरपालिका बस्ने ४१ वर्षीय नवीन तुलाधर र बर्दियाको बाँसघारी नगरपालिका–५ का ४५ वर्षीय राम प्रकाश थारुको शनिबार बिहान मृत्यु भएको हो । सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा बिहान ५ः३० बजे चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका हुन् ।दुर्घटना लगत्तै अस्थायी प्रहरी पोष्ट बेल्खेतबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि दैलेखको राकमस्थित राकम कर्णाली आधारभूत अस्पताल पठाएको थियो ।जिल्ला प्रहरी कार्यालय अछामका अनुसार त्यहाँ प्राथमिक उपचारपछि गएराति ११ बजे सबै घाइतेहरूलाई थप उपचारका लागि सुर्खेत रिफर गरिएको थियो ।













