धनगढी । कैलालीबाट लागुऔषध खैरो हेरोइनसहित ४ जना पक्राउ परेका छन ।
जिल्लाको गोदावरी नगरपालिका-२ अत्तरियाबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २० ग्राम २ सय ४० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने कञ्चनपुरको भीमदत्त नगरपालिका-६ घर भएका ४३ वर्षीय धर्मानन्द भट्ट समेत ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले धर्मानन्दको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।
त्यसैगरी, कैलारी गाउँपालिका-३ सुर्मिनालाबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ २ ग्राम २० मिलिग्राम सहित सोही ठाउँ बस्ने २९ वर्षीय मिमुह चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाइएको छ ।
इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित चौधरीलाई पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













