धनगढी । धनगढीको नवजीवन अस्पतालमा युवतीको मृत्यु भएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका–११ बस्ने २२ वर्षीया सानु बिकको उपचारका क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार टन्सिलसम्बन्धी समस्याको उपचारका लागि उनलाई नवजीवन अस्पताल भर्ना गरिएको थियो । ९ जेठमा शल्यक्रिया गरेर डिस्चार्ज भएर घर फर्किएकी बिकको स्वास्थ्य पुनः बिग्रिएको थियो ।
मुखबाट रगत बग्न थालेपछि मंगलबार फेरि उपचारका लागि अस्पताल ल्याइएको थियो । उनलाई आईसीयूमा राखेर उपचार भइरहेकोमा बुधबार बिहान २ः४६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्युपछि आफन्तजनले चिकित्सकको लापरबाहीका कारण घटना भएको आरोप लगाउँदै अस्पताल परिसरमा विरोध जनाएका छन्।













