कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले मुस्लिम समुदायका नागरिकहरू क्रमिक रूपमा आफ्ना अधिकारसँग जोडिँदै गएको बताएका छन्।
मुस्लिम आयोग को आयोजनामा कञ्चनपुरको महेन्द्रनगरमा आयोजित ‘मुस्लिम समुदायको सशक्तीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम’मा बोल्दै प्रदेश प्रमुख मियाँले मुस्लिम समुदायको अधिकार स्थापना र संरक्षणमा आयोगले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए।
उनले मुस्लिम आयोगलाई महत्वपूर्ण संवैधानिक निकायका रूपमा उल्लेख गर्दै पछिल्लो समय आयोगले सञ्चालन गरेका गतिविधिको प्रशंसा गरे।
प्रदेश प्रमुख मियाँले लामो संघर्षपछि आयोगको स्थापना भएको स्मरण गर्दै आयोगको काम, कर्तव्य र अधिकारबारे समुदायलाई अझ व्यापक रूपमा जानकारी गराउन आवश्यक रहेको बताए।
उनले आयोगले मुस्लिम समुदायको बसोबास रहेका विभिन्न क्षेत्रमा पुगेर अन्तरक्रिया तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आयोगको क्षेत्राधिकार, कार्य तथा समुदायप्रति राज्यको दायित्वबारे जानकारी गराउने काम गरेकोमा धन्यवाद व्यक्त गरे।
उनले नेपालको संविधानको धारा २६४ बमोजिम स्थापना भएको आयोगले आफ्नो क्षेत्राधिकारभित्र रही समुदायका समस्या पहिचान गर्ने, समाधानका लागि तीनै तहका सरकारलाई सिफारिस गर्ने तथा वार्षिक प्रतिवेदन राष्ट्रपति र प्रदेश प्रमुखमार्फत संघीय र प्रदेश सभामा पेश गर्ने कार्य गरिरहेको बताए। साथै कानुनमा रहेका जटिलता समाधानका लागि आयोग सक्रिय रूपमा लागिरहेको उल्लेख गरे।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल ले मुस्लिम समुदायको अधिकार सुनिश्चित गर्न प्रतिबद्ध व्यक्तित्व प्रदेश प्रमुखको जिम्मेवारीमा रहेकोमा खुशी व्यक्त गरे। उनले मुस्लिम तथा गैरमुस्लिम समुदायबीच पछिल्लो समय भाइचारा, सद्भाव र सामाजिक एकता थप सुदृढ बन्दै गएको बताए।
अन्तरक्रियामा मुस्लिम समुदायका नागरिकहरूले आफ्नो समुदायका समस्या तथा वर्तमान अवस्थाबारे धारणा राखेका थिए। भीमदत्त नगरपालिका का प्रमुख पदम बोगटी ले स्थानीय मुस्लिम समुदायले उठाएका विषयहरू सम्बोधन गर्न नगरपालिका प्रतिबद्ध रहेको बताए।
मुस्लिम आयोग का कार्यवाहक अध्यक्ष महमदिन अली को अध्यक्षतामा सम्पन्न कार्यक्रममा आयोगका सदस्यद्वय शमसुल हक र मिर्जा अर्शद बेग लगायतको उपस्थिति रहेको थियो।













