धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलालीको नयाँ नेतृत्व चयनका लागि सम्पन्न जिल्ला अधिवेशनबाट कविन्द्र ठकुल्ला सभापतिमा निर्वाचित भएका छन्। आइतबार भएको निर्वाचनमा ठकुल्ला ३३५ मत प्राप्त गर्दै विजयी भएका हुन्।
सभापति पदका अर्का उम्मेदवार महेशकुमार चौधरीले ३७ मत र हरी रेग्मीले २२ मत प्राप्त गरेका छन्। निर्वाचनअघि नै चौधरी र रेग्मीले निर्वाचन समिति अवैधानिक रहेको तथा मतदाता नामावलीमा धाँधली भएको आरोप लगाउँदै चुनाव बहिष्कार गरेका थिए। उनीहरूको बहिष्कारका बाबजुद पार्टीले मतदान प्रक्रिया अघि बढाएको थियो।
उपसभापतिमा रामलखन चौधरी निर्वाचित भएका छन्। उनी पाँच जना प्रतिस्पर्धीलाई पछि पार्दै १५२ मत प्राप्त गरेर विजयी भएका हुन् ।
त्यस्तै सचिवमा मदनराज जोशी र सहसचिवमा गणेशबहादुर शाही विजयी भएका छन्।
त्यस्तै, सदस्यहरुमा लक्ष्मी रावल पौडेल, लक्ष्मी भट्ट, जंगबहादुर आलेमगर, दीपक विक र नरदिपबहादुर धामी निर्वाचित भएका छन्।
निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै दुई प्रमुख उम्मेदवारले बहिष्कार गरे पनि मतदान सम्पन्न भई नयाँ नेतृत्व चयन भएको छ।













