धनगढी ।तराईको बढ्दो गर्मी छल्न पछिल्ला दिनमा कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ मा रहेको हाटखोली आन्तरिक पर्यटकको प्रमुख गन्तव्य बनेको छ ।
हाटखोलीको प्राकृतिक खोल्सा, चिसो पानी, रुखबिरुवाले ढाकेको वातावरणका कारण धनगढी, अत्तरिया र आसपासका बासिन्दा दैनिक घुम्न पुग्न थालेका छन् । विशेषगरी परिवारसहित रमाइलो गर्न आउनेको संख्या बढेको स्थानीयको भनाइ छ ।
स्थानीयका अनुसार गर्मी याम सुरु भएयता हाटखोलीमा आउने पर्यटकको चाप उल्लेख्यरूपमा बढेको छ । पर्यटकको बढ्दो आगमनसँगै स्थानीय पसल, चिया नास्ता रेस्टुरेन्टको व्यापारमा पनि सुधार आएको छ ।
‘पहिले बाटो बिराएर जाने ठाउँ थियो, अहिले धनगढीबाटै गाडी रिजर्भ गरेर मान्छे आउँछन् । हामीलाई पनि थोरै भए पनि आम्दानी भएको छ,’ स्थानीय होटल व्यवसायी डम्बर बोहराले बताए ।
गोदावरी नगरपालिकाले हाटखोलीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न पूर्वाधार बनाउने योजना अघि बढाएको जनाएको छ । हाटखोली धनगढीबाट २० किलोमीटर उत्तरमा रहेको छ ।



















