धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रीहरूलाई प्रभावकारी र नतिजामुखी रूपमा कार्यसम्पादन गर्न निर्देशन दिएका छन्।
आज बसेको सत्ता गठबन्धन दलको बैठकमा मुख्यमन्त्री शाहले मन्त्रीहरूलाई आफ्नो जिम्मेवारीप्रति गम्भीर बन्न आग्रह गर्दै जनताको अपेक्षाअनुसार सेवा प्रवाहलाई छिटो, पारदर्शी र उत्तरदायी बनाउनुपर्ने बताए ।
बैठकमा उनले सरकारका कामकारबाहीलाई थप प्रभावकारी बनाउन मन्त्रालयगत जिम्मेवारीको सफल कार्यान्वयनमा जोड दिएका थिए। साथै, विकास निर्माणका कामलाई तीव्रता दिँदै जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी परिणाममुखी कार्यसम्पादन गर्न मन्त्रीहरूलाई आग्रह गरेका छन्।
मुख्यमन्त्री शाहले सरकारप्रति जनविश्वास बढाउन सेवा प्रवाह र विकास निर्माणका गतिविधिमा सुधार आवश्यक रहेको उल्लेख गरे ।













