धनगढी । सरकारको विज्ञापन सम्बन्धिको विभेदकारी नीतिका विरुद्ध आज पनि जिल्ला प्रशासन कार्यालय कैलाली अगाडि धर्ना दिइएको छ ।
नेपाल पत्रकार महासंघ कैलालीको आयोजनामा आज दोस्रो पटक धर्ना दिइएको हो । यस अघि जेठ २७ गते प्रशासनमा धर्ना दिइएको थियो ।
नीजी सञ्चारमाध्यममाथि सरकारले गरेको विभेदकारी निर्णयको विरोधमा महासंघको केन्द्रीय निर्ण्यअनुसार धर्ना कार्यक्रमको आयोजना गरिएको हो ।
धर्ना कार्यक्रममा जिल्लामा कार्यरत सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।
पत्रकारहरूले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको सूचनाको अधिकारको संरक्षणको माग गर्दै सरकारको निर्णय तत्काल फिर्ता लिन आग्रह गरेका छन् ।
धर्नाका क्रममा सहभागी पत्रकारहरूले प्रेस तथा सञ्चारमाध्यममाथिको हस्तक्षेप बन्द गर्न, संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको सम्मान गर्न तथा निजी सञ्चारमाध्यममाथि गरिएका विभेदकारी निर्णयहरू खारेज गर्नुपर्ने माग राखेका थिए।
महासंघको केन्द्रीय कार्यक्रमअन्तर्गत देशभरका जिल्ला प्रशासन कार्यालयहरूमा आज धर्ना दिने कार्यक्रम रहेको छ ।













