धनगढी- कैलालीका पत्रकार अविनाश चौधरीको क्यामेरा चोरी भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ८ का स्थित आफ्नै घरबाट दशैताका क्यामेरा चोरी भएको हो । पत्रकार चौधरीले सामाजिक सञ्जाल फेसबुकमा क्यामेरा चोरी भएको सार्वजनिक गरेका हुन् । उनले ‘क्यानोन रेबल टी–६’ क्यामेरासहित १८–५५ एमएम, ७५–३०० एमएम दुईवटा लेन्स चोरी भएको बताएका छन् । दशैंका बेला विदामा घर बाहिर गएका बेला घर भित्रको दराजमा राखिएको क्यामेरा चोरी भएको उनले बताए ।
उनले लेखेका छन् ‘दशकसम्म पत्रकारिता गर्दा जसोतसो जोहो गरिएको । सम्पत्तिको नाममा यहि एउटा क्यामेरा र त्यसमा लाग्ने दुई वटा लेन्समात्रै थियो । त्यो पनि दसैंको बेला धनगढी गाउँ घरको कोठाबाट चोरले चोर दियो । मैले गुजारा गर्ने मुख्य साधन गुम्यो । अब हतियार बिनाको सेना जस्तै छु ।
क्यामेरामा रहेको हिरु डगौरा सरको मेमोरी पनि गयो । जसमा महत्वपूर्ण डकुमेन्टका साथै चराको हजारौंभन्दा बढी फोटो थियो । म गरिबमाथि कुन ट्याबे मुन्द्रेको आँखा लाग्यो ? माथि छतको ढोका लगाउन मिस्टेक हुँदा क्यामेरा चोरी भयो ।’
पत्रकार चौधरी धनगढीबाट गोरखापत्र दैनिक र धनगढीकै पश्चिम टुडे दैनिकमा कार्यरत छन् ।















