मेरी माया झुम्की,
यो असार महिना । मानो रोपी मुरी फलाउने समय । दिनहुँ झरी परिरहेको छ । वर्षायाम सुरु भइसक्यो । यति बेला खेतबारीमा कामको चटारो हुन्छ होला ।
झुम्की, यो वर्षे झरीले मलाई हरेक पल त्यहीँ पुर्याउँछ—जहाँ तिमी र म हिलाम्मे खोलीखेत खनी रहेका हुन्थ्यौं । भीरु दाइ र बा तारे–माले जोत्दै आली लगाउँथे । खेतका गरा भरिएको पानीमा काफी हिलो खेल्थी ।
सुली दी, भाउजू लगायतका संगिनीहरूले असारे गीत गाउँदै छुपुछुपु धान रोप्थिन् । आमाले आलु–मटरको तरकारी र सिलमको अचारसँग रोटी खुवाउनुहुन्थ्यो ।
मेरी माया, तर आज हामी समयको खेलमा कहाँ पुग्यौं ? काफी लगायतका कर्मघर गए । आमा सदाका लागि यो धर्तीबाट बिदा भइन् । म सहर पसें । सुली दी धन कमाउन विदेश गइन् । बा बुढा भए । भीरु दाइ लाहुर गए ।
के गर्नु, झुम्की ? यति बेला मेरो सुन्दर जीवन चोटिएजस्तो आभास भएको छ ।
त्यो हाम्रो घरआँगन, त्यो खोलीखेत—सबै सुनसान र उदासीन छ होला । कठै, मेरी माया, तिमी पनि त्यही एउटै सरो लुगा लगाएर तारे–मालेको गोठालो गर्दै, दिलेको बाटो हेर्दै बसेकी हौली । भीरु दाइ र बाले जोत्ने तारे–माले मात्र तिम्रा साथी होलान् ।
माले र तारे पनि अब बुढा भए होलान् नि ? जोत्ने मान्छे नपाएर उता खोलीखेत बाँझै छ होला । घरको छानो चुहिन्छ होला ।
बाध्यता र विवशताले मलाई यो सहरले अल्झाइरहेको छ ।
यो वर्षायाममा आएर छानो मर्मत गरौंला भन्ने सोचेको थिएँ । तर हेर, मेरी माया, मनले सोचेको नपुग्ने रहेछ । यो साल यस्तै भयो । यो वर्षातमा छानोमा त्रिपाल हालेर ओत लाग्ने बनाउनु। अर्को साल छानो फेरौंला, है ।
अँ, झुम्की, तिमी र म तोते बोली बोल्न थाल्दादेखि नै सँगै खेल्ने खोलीखेत छेउको वरपीपल पनि एक्लै ठिङ्ग उभिएको छ होला ।
कठै, आज त्यो वरपीपल पनि एक्लो भयो । उसको शीतल छहारी कसैको काममा छैन। के गर्नु ? मेरो सम्झनाले मात्र तिम्रो र त्यो प्राणवायु दिने वरपीपलको खोजीको न्यानो भरोसा र आशा पुग्ने वाला छैन ।
जसरी छिनछिनमा मौसम बदलिन्छ, त्यसैगरी हाम्रो नियतिमा पनि ठूलो बदलाव आएको छ । जीवन घाम–पानीजस्तै भएको छ—कहिले घाम, कहिले पानी ।
हो, आजकाल हाम्रो जीवन घामपानीको चक्रजस्तै बनेको छ, है झुम्की ?
कहिलेकाहीं तिमी मनमा अनेक शंका–उपशंका लिएर रिसाउँछ्यौ, र मन दुख्छ । तर तिमीले शंका लिनु जायज पनि होला ।
दिलले हरेक पटक ‘आउँछु’ भन्छु, तर अन्त्यमा ‘यस पटक आउन नपाउने भएँ, अर्को पटक अवश्य आउँछु रानी’ भनेर चिप्ला कुरा गरी पार लगाउँछु—मीठो बोलेर बहाना बनाउँछु ।
तिमीले ‘सहरमै त भुलेनौं ?’ भनेर शंका गर्नु पनि स्वाभाविक हो ।
तर मेरी माया, यो बहाना होइन, बाध्यता हो । हाम्रो गरिबी हो । तिमीलाई थाहै छ, म यो सहरमा साँझ–बिहानको छाक टार्न र घरपरिवारलाई एउटै लुगाफाटोको जोहो गर्न रातदिन, घामपानी नभनी खटिरहेको छु ।
मेरी माया, मलाई थाहा छ—समाजमा हाम्रो मायाप्रेमबारे अनेक हल्ला चल्छन् । उनीहरूको नजरमा हाम्रो माया आँखाको कसिंगरजस्तै बनेको छ । तर म हरेक दिन, हरेक पल तिमीलाई नै सम्झिरहन्छु । कामबाट थकित फर्केर बिछौनामा पल्टिन्छु, तिम्रो तस्बिरसँग एकोहोरो संवाद गर्छु, र सारा दुःख भुलेर मन हलुका बनाउँछु । सायद तिमी पनि यस्तै गर्छ्यौ, है ?
झुम्की, तिमी ढुक्क हुनु । जस्तोसुकै बाधा–अवरोध आए पनि मलाई तिमीलाई सम्झिरहन, माया गरिरहन कसैले छेक्न सक्दैन । यो मेरो दृढ प्रतिबद्धता हो, रानी ।
मलाई विश्वास छ—तिमी पनि हरेक पल दिलेको यादविना रहन सक्दिनौ । दुनियाँको नजरमा कसिंगर बनेको हाम्रो मायाप्रेम, भौगोलिक दूरीले पनि सधैँ सगरमाथाझैँ अग्लो र अटल छ । अझै रहनेछ । यो सपना होइन, वास्तविकता हो, मेरी माया ।
अब म फर्किएर गाउँ नआउन्जेल आफ्नो आवाज र पत्रले हाम्रो मनको दूरी मेटिरहनेछौं । बाँकी अर्को पत्रमा शुभ पल, मेरी हजुर ।
उही दिले
सुदूरपश्चिम प्रदेश
धनगढी, कैलाली ।













