धनगढी– कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा गठबन्धन दलको बैठकले निर्वाचन परिचालन तथा समन्वय समितिलाई पूर्णता दिएको छ । समितिका संयोजक एवम् कांग्रेस कैलालीका सचिव नृपबहादुर सुनारको अध्यक्षतामा शनिबार बसेको बैठकले समितिलाई पूर्णता दिएको हो ।
नेपाली कांग्रेस कैलालीको शुक्रबार बसेको बैठकले
पार्टीका जिल्ला पदाधिकारीलाई क्षेत्र स्तरीय निर्वाचन परिचालन तथा समन्वय समितिको संयोजक तोकेको थियो । सोही अनुसार क्षेत्र नम्बर ५ मा सुनारको संयोजकत्वमा गठबन्धन दलको निर्वाचन परिचालन तथा समन्वय समिति गठन गरिएको हो ।
समितिको सह-सयोजकमा नेकपा माओवादी र सचिवमा एकीकृत समाजवादीका प्रतिनिधिलाई राखिएको छ ।
कांग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वडसहितको उपस्थितिमा बसेको बैठकले अहिलेसम्मको निर्वाचन परिचालनको समिक्षा लगायत विभिन्न निर्णय समेत गरेको छ । निर्वाचन क्षेत्र नम्बर ५ मा वडा तहको निर्वाचन परिचालन समितिले ७ गते भित्र वडा तहको समिक्षा गर्ने निर्णय भएको संयोजक सुनारले बताए ।
यस्तै बैठकले १२ गतेदेखि २० गतेसम्म वडास्तरका निर्वाचन परिचालन कार्य योजना बनाउने र ७ गतेसम्म निर्वाचन परिचालन समितिले पालिकास्तरसंग समिक्षा गर्ने कार्यक्रम तय भएको उनले बताए ।













