धनगढी– नेपाली काँग्रेस कैलालीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रचार–प्रसार मुल समितिलाई विस्तार गर्ने निर्णय गरेको छ ।
प्रचार–प्रसार मुल समितिका संयोजक तथा काँग्रेस कैलालीका उपसभापति भीम वडुवालको अध्यक्षतामा आइतबार पार्टी कार्यालयमा बसेको बैठकले विभिन्न निर्णयसहित समितिलाई विस्तार गर्ने निर्णय गरेको हो । वडुवालको संयोजकत्वमा रहेको समितिलाई १ सय १० सदस्यीय बनाइने निर्णय गरिएको सूचना संकलन अनुगमन समितिका संयोजक तपेन्द्र भुषालले जानकारी दिए । उनका अनुसार यो समिति विस्तार गर्ने जिम्मेवारी संयोजक वडुवालनै तोकिएको छ ।
त्यस्तै बैठकले प्रचार–प्रसार उपसमिति अन्तर्गत सामाजिक संघ-संस्था समन्वय तथा प्रचार–प्रसार उपसमिति र महिला समन्वय तथा प्रचार–प्रसार समिति थप गर्ने निर्णय गरिएको छ । यसमध्ये सामाजिक संघ संस्था समन्वय उपसमितिको जिम्मेवारी समेत जिल्ला सम्पर्क समन्वय उप समितिका संयोजक रतन कठायतलाई दिइएको छ ।
त्यस्तै सरस्वती बस्नेतलाई यसअघि तोकिएको जिम्मेवारी परिवर्तन गरी महिला समन्वय तथा प्रचार–प्रसार उपसमितिको जिम्मेवारी दिएको छ ।
यसैगरी जिल्ला सदस्य नन्दा शर्मालाई रेडियो/एफएम समन्वय तथा प्रचार–प्रसार उपसमितिको जिम्मेवारी तोकिएको छ ।
यसअघि यो समितिको जिम्मेवारी बस्नेतलाई दिइएको थियो । बैठकमा जिल्ला सचिव केशवराज मिश्रसहित विभिन्न समितिका संयोजकलगायतको उपस्थिति रहेको थियो ।













