धनगढी । सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मन्त्रालय तथा मन्त्री सचिवालयका कर्मचारीसँग जोडेर सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा फैलाइएका आर्थिक लेनदेनसम्बन्धी समाचार तथा स्टाटसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
मन्त्रालयले भदौ १७ गते सार्वजनिक गरेको प्रेस विज्ञप्तिमार्फत मन्त्रालय तथा मन्त्री सचिवालयका कुनै पनि कर्मचारी गैरकानुनी एवं अनैतिक आर्थिक लेनदेनका गतिविधिमा संलग्न नरहेको स्पष्ट पारेको छ।
विज्ञप्तिमा तथ्यहीन र बिना आधार फैलाइएका अफवाह तथा भ्रमपूर्ण प्रचारको पछि नलाग्न आम नागरिक, सञ्चारकर्मी तथा सरोकारवालालाई आग्रह गरिएको छ। मन्त्रालयले सुशासन, पारदर्शिता र शून्य सहनशीलताको नीतिप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाएको छ।
मन्त्रालयको छविमा आँच पु¥याउने नियतले गरिने गलत प्रचारप्रति सजग रहनसमेत सबैलाई आग्रह गरिएको छ। विज्ञप्ति मन्त्रालयका प्रमुख स्वकीय सचिव ईश्वरबहादुर ढकालले जारी गरेका हुन् ।
















