धनगढी । नेपाल तरुण दल कैलाली क्षेत्र नम्बर ५ ‘ख’ क्षेत्रीय कार्यसमितिले हालै रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार र राहतका लागि आर्थिक सहयोग प्रदान गरेको छ।
कार्यसमितिले राहतस्वरूप सङ्कलन गरेको नगद रु ५२,९०९ नेपाल तरुण दलको केन्द्रीय कार्यसमितिमा पठाएको हो ।
नेपाल तरुण दल कैलाली क्षेत्र नम्बर ५ ‘ख’ का सभापति तेजु रोकाया तथा नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य दीपेन्द्रबहादुर बमको विशेष सक्रियता र पहलमा उक्त राहत रकम सङ्कलन गरिएको जनाइएको छ ।
विपद्को यस घडीमा बाढी प्रभावित नागरिकहरूलाई सानो भए पनि मल्हमपट्टी लगाउन सकियोस् भन्ने उद्देश्यले तरुणहरू र स्थानीय स्तरबाट उक्त रकम जुटाइएको सभापति रोकायाले जानकारी दिए ।
सङ्कलित राहत रकम आज एक कार्यक्रमका बीच नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय कैलालीका सचिवद्वय केशव मिश्र र निर्पबहादुर सुनार मार्फत तरुण दलको केन्द्रीय कार्यसमितिको राहत कोषमा जम्मा हुने गरी आधिकारिक रूपमा पठाइएको जनाइएको छ।
रकम हस्तान्तरण गर्दै नेताहरूले प्राकृतिक विपत्तिको चपेटामा परेका रसुवाका नागरिकहरूको सहयोगका लागि तरुण दल सदैव अग्रपंक्तिमा रहने र आगामी दिनमा पनि यस्ता मानवीय कार्यहरूलाई निरन्तरता दिइने प्रतिवद्धता व्यक्त गरेका छन्।














