धनगढी- दार्चुलामा सडक निर्माणका क्रममा नेपाली बालकको मृत्यु भएपछि भारतीय निर्माण कम्पनीले पीडित परिवारलाई १६ लाख क्षतिपूर्ति दिएको छ ।
गएराति भारतीय निर्माण कम्पनी, भारतीय प्रशासन, पीडित परिवारका सदस्य र स्थानीय नेपाली जनप्रतिनिधिबिच भएको छलफलमा पीडित परिवारलाई १६ लाख रकम उपलब्ध गराउने सहमति भएको हो । भारतको धारचुलास्थित सहायक प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा निर्माण कम्पनीले नगद रकम हस्तान्तरण गरेको हो ।
भारतीय सडक निर्माण कम्पनी ‘गर्ग एण्ड गर्ग’ का प्रतिनिधिले पीडित परिवारलाई नगद रकम हस्तान्तरण गरेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।
दार्चुलाको ब्यास गाउँपालिका–२ दुम्लिङस्थित महाकाली नदी पारीको भारतीय क्षेत्रमा शुक्रवार बिहान सडक निर्माणका क्रममा विस्फोटक पदार्थ प्रयोग गरेपछि उछिट्टिएको ढुङ्गाले लागेर ९ वर्षीय बालक पवन महराको मृत्यु भएको थियो ।
महरा महाकाली किनारमा नेपाली क्षेत्रमा बुबा, आमा, दिदी र भाइहरूका साथमा हिँडिरहेका बेला उक्त घटना घटेको हो । घटनापछि भारतीय निर्माण कम्पनीले गल्ती स्वीकार गर्दै पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने सहमति गरेको हो ।













