धनगढी- नेपाली काँग्रेस कैलालीले क्षेत्र नम्बर ५ का २१ वटै वडामा क्षेत्रिय प्रतिनिधिहरुलाई चुनावी प्रचार–प्रसारमा परिचालन गरेको छ । मंगलबार धनगढीस्थित ओम प्यालेसमा क्षेत्रिय प्रतिनिधिहरुको भेला गर्दै क्षेत्रिय प्रतिनिधिहरुलाई प्रचार–प्रसारका २१ वटै वडाको जिम्मेवारी दिइएको हो ।
एक क्षेत्रीय प्रतिनिधिले २० वटा घरको जिम्मा लिई प्रत्यक्षतर्फ गठबन्धन दलका साझा उम्मेदवारहरुका लागि मत माग्न पर्ने जिम्मेवारी रहेको छ । क्षेत्रिय प्रतिनिधिहरुले टोलमा रहेको २० जना क्रियाशिलहरुको भेला गराई प्रचार प्रसारमा खटिनुपर्ने नेपाली काँग्रेस कैलालीका सचिव एवं कैलाली क्षेत्र नम्बर ५ का निर्वाचन परिचालन समितिका संयोजक नृपबहादुर सुनारले जानकारी दिए ।
क्षेत्रीय प्रतिनिधिहरुले मत माग्नुका साथै मतदानका लागि अभिप्रेरित गर्ने, मत दिने वातावरण तयार गर्ने, पार्टीमा रहेका असन्तुष्ट नेता कार्यकर्तालाई सम्झाउने, बुझाउने प्रयास गर्ने नसकेमा माथिल्लो निकायमा जानकारी दिने, आफनो टोलको मत विशलेष गरी गठबन्धनका उम्मेदवार र अन्य उम्मेदवारले प्राप्त गर्ने मतको संख्या कार्तिक २८ गतेभित्र नगर÷प्रदेश÷क्षेत्र स्तरिय निर्वाचन परिचालन समितिलाई जानकारी गराउने जिम्मेवारी रहेको सुनारले बताए ।
क्षेत्रिय प्रतिनिधि भेलामा नेपाली काँग्रेसकी केन्द्रिय सदस्य शुशिला मिश्र भट्ट प्रमुख अतिथि रहेकी थिइन । भेलामा उनले नेपाली काँग्रेसका उम्मेदवारलाई विजयी गराउन सबै एक्तावद्ध भएर लाग्नुपर्ने बताइन् । उनले भनिन –‘यो निर्वाचन काँग्रेसका उम्मेदवारलाई विजयी गराउन सबै एकजुट हुनुपर्छ । पार्टीका आन्तरिक तिक्ततालाई भुल्दै सबै गठबन्धन दललाई विजयी गराउन लागौं ।’
भेलामा कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा उम्मेदवार डिल्लीराज पन्त, प्रदेश सभा १ का उम्मेदवार रमेश धामी, प्रदेश सभा २ का उम्मेदवार प्रकाश देउवाले धारणा व्यक्त गरेका थिए । भेलाको उद्देश्य तथा क्षेत्रीय प्रतिनिधिहरुले गर्नुपर्ने जिम्मेवारी लगायतका बारेमा जिल्ला सचिव एवं संयोजक सुनारले जानकारी गराएका थिए ।













