अछाम – अछाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर- १ का स्वतन्त्र उम्मेदवार महेन्द्रबहादुर बोगटी नेकपा एमाले प्रवेश गरेका छन् । उनलाई एमाले प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा जिल्ला इन्चार्ज झपट बोहराले स्वागत गरेका हुन् ।
स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचन प्रचार–प्रसारमा रहेका बोगटीले देशको परिवर्तन एमालेबाट मात्रै सम्भव रहेको भन्दै आफू एमालेमा समाहित भएको बताए । उनले सत्य र शक्ति एमालेमा मात्रै रहेको र आफ्नो एजेन्डाहरू एमालेसँग मिल्दाजुल्दा भएकाले आफू एमालेमा समाहित भएको बताए । उनले मुलुकको परिवर्तन एमालेबाट मात्रै सम्भव भएको दाबी गरे ।
विगतमा आफ्नो लागि मत मागिरहेको बताउँदै उनले आगामी दिनमा नेकपा एमालेको उम्मेदवारलाई जिताउन लागिपर्ने बताए । स्वतन्त्र उम्मेदवार बोगटीलाई एमाले प्रवेश गराउँदै प्रतिनिधि सभा सदस्यको उम्मेदवार बोहराले एमालेको जित निश्चित भएको बताए ।















