धनगढी- सुदूरपश्चिम प्रदेशको कैलाली निर्वाचन क्षेत्र नम्बर ४ को निर्वाचनलाई सबैले चासोसाथ हेरेका छन् । डडेल्धुरापछि चासो दिइएको यो निर्वाचन क्षेत्रमा पूर्वमन्त्रीद्वय लेखराज भट्ट र वीरबहादुर बलायर प्रतिनिधि सभा सदस्यका लागि चुनावी मैदानमा रहेका छन् । दुवै जना आ–आफ्ना पार्टीका सुदूरपश्चिम प्रदेशको नेतृत्वकर्ता रहेका कारण यो निर्वाचन क्षेत्रलाई चासोका रूपमा हेरिएको छ ।
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति बलायर चुनाव लड्नका लागि पहिलो पटक कैलाली ४ मा झरेका हुन् । तर, नेकपा (एमाले)का प्रदेश इन्चार्ज लेखराज भट्टका लागि भने यो निर्वाचन क्षेत्र नौलो होइन । उनी तीन पटक नेकपा (माओवादी केन्द्र) र संयुक्त जनमोर्चाबाट यो क्षेत्रमा चुनाव लडिसकेका छन् । एउटै क्षेत्रबाट यो उनको चौथो पटक उम्मेदवारी हो । यसअघि यस निर्वाचन क्षेत्रबाट भट्टलाई दुई पटक जित र दुई पटक हार प्राप्त भएको थियो । इन्चार्ज भट्टले २०४८ सालमा कांग्रेसका टेकबहादुर चोख्यालसित पराजय भए ।
यस्तै गरेर माओवादी केन्द्रबाट २०६४ मा संविधान सभा सदस्यमा जित हासिल गरे । नेपाली कांग्रेसका उम्मेदवार दीर्घराज भाटलाई पराजित गरेर उनी संविधान सभामा पुगे। २०७० मा भएको दोस्रो संविधान सभाको निर्वाचनमा भने भाटसँगै पराजित भए । २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका सुनीलकुमार भण्डारीलाई पराजित गरेर वाम गठबन्धनबाट उनले जित प्राप्त गरेका थिए । सो निर्वाचनमा भट्टलाई ३१ हजार ३५९ मत र पराजित भण्डारीलाई २० हजार ९६० मत प्राप्त भएको थियो ।
कैलाली क्षेत्र नम्बर ४ मा डोटीबाट झरेका ‘डोट्याल’को भोट भट्टले चुनाव जित्नका लागि निर्णायक बन्दै आएको छ । डोटीबाट झरेका उनका गोत्यार, आफन्त, नातेदारले जिताउँदै आएका छन् । तर, यस पटक उनको बलियो प्रतिद्वन्द्वीका रूपमा प्रस्तुत भएका बलायर पनि डोटीकै हुन् । जसले गर्दा ‘डोट्याली’ भोट बाँडिने सम्भावना रहेको देखिन्छ ।
बलायर यसअघि २०७४ मा डोटीबाट चुनाव लडेर पराजित भए । २०६४ को संविधान सभा निर्वाचनमा पराजित उनी २०७० को दोस्रो संविधान सभा निर्वाचनमा भने विजयी भएका थिए । यस पटक डोटीको निर्वाचन क्षेत्र नम्बर १ गठबन्धन सहयात्री दल नेकपा (एकीकृत समाजवादी)को भागमा परेको छ ।
पूर्वमन्त्रीसमेत रहेका प्रेम आलेमगर त्यहाँबाट उम्मेदवार रहेका छन् । डोटीमा स्थान नभएपछि कांग्रेसका बलायर कैलाली झरे । भट्ट र बलायर दुवै जना प्रदेशको स्थायी राजधानी बनाउने विषयलाई प्रमुख मुद्दा बनाएर चुनावी मैदानमा होमिएका छन् । सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी गोदावरी नगरपालिकामा बनाउने प्रदेश सभाबाट दुई तिहाइ बहुमतले टुङ्गो लगाइएको थियो ।
तर, राजधानी बनाउने कार्य कार्यान्वयन हुन सकेको छैन । सोही विषय अहिले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारका लागि प्रमुख मुद्दा बनेको छ । उनीहरूले जसरी पनि गोदावरीमै राजधानी बनाउने भन्दै मतदाता रिझाउने कार्य गरिरहेका छन् । क्षेत्र नम्बर ४ मा गोदावरी नगरपालिका, गौरीगङ्गा नगरपालिका, चुरे गाउँपालिका र मोहन्याल गाउँपालिकाको वडा नम्बर ५ पर्छ ।
स्थानीय तहको निर्वाचनमा दुईवटै नगरपालिकामा गठबन्धन दलका उम्मेदवारले जितेका थिए । गोदावरी नगरपालिकामा नेपाली कांग्रेस र गौरीगङ्गा नगरपालिकामा माओवादीका उम्मेदवारले प्रमुखमा जितेका छन् । गोदावरी नगरपालिकामा १५ हजार ५०१ र गौरीगङ्गा नगरपालिकामा १३ हजार ७९५ गरी गठबन्धनको पक्षमा २९ हजार २९६ मत आएको थियो ।
यसैगरी दुवै नगरपालिकामा निकटतम प्रतिद्वन्द्वी भई नेकपा (एमाले) उम्मेदवार पराजित भए । सो पार्टीलाई गोदावरी नगरपालिकामा ११ हजार २२४ र गौरीगङ्गा नगरपालिकामा छ हजार ६३२ गरी कुल १७ हजार ८५६ मत प्राप्त भएको थियो ।
यस्तै गरेर चुरे गाउँपालिकामा भने नेकपा (एमाले)का उम्मेदवार विजयी भए । चुरेमा नेकपा (एमाले)ले तीन हजार ३०५ र गठबन्धनको दल एकीकृत समाजवादीले तीन हजार २८१ मत प्राप्त गरेको थियो ।













