धनगढी- कैलाली क्षेत्र नम्बर ५ मा लोकतान्त्रिक बाम गठबन्धनबाट प्रतिनिसभा सदस्यका साझा उम्मेदवार डिल्लीराज पन्तले विगतमा काम नगर्ने व्यक्तिलाई फेरि जिताएर पठाउनुपर्ने कुनै कारण नरहेको बताएका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ७ स्थित पटेलाको थारु बस्तीमा आयोजित टोल भेलालाई सम्बोधन गर्दै उनले काम गर्न सक्ने र इमान्दार व्यक्तिको पहिचान गर्नुपर्ने बताए ।
थारु भाषामा सम्बोधन गरेका उम्मेदवार पन्तले अघिल्लो पाँच वर्षमा काम गर्न नसक्ने व्यक्तिलाई जिताएमा फेरि त्यही समस्या दोहोरिने बताए । आगामी दिनमा यस क्षेत्रको शिक्षा, स्वास्थ्यलगायतको विकासका लागि बाम गठबन्धनलाई जिताउनुपर्ने उनले बताए ।
आफले अघिल्लो कार्यकालमा प्रदेश सांसद हुँदा थुप्रै काम गरेको उदाहरण दिँदै उनले भने, ‘अब पनि आफू जितेर गएमा यहाँको विकासका लागि सक्रिय भएर लाग्नेछु ।’ उनले विकासको सिन्कोसमेत नभाच्नेलाई भोट दिन नहुने बताए ।
यसअघिका व्यक्तिको परीक्षण भइसकेको र उनीहरुले काम गर्न नसकेको भन्दै अब नयाँ व्यक्तिलाई जिताउन उनले आग्रह गरे । उनले प्रदेश र प्रतिनिधिसभा दुबैतर्फ भारी मत दिएर जिताउन आग्रह गरे ।













