सिराहा- सिराहाको उत्तरवर्ती धनगढीमाई नगरपालिका– १२ कुसमाहा खुट्टीखोलाक्षेत्रबाट गाँजासहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा भगवानपुर गाउँपालिका– ४ का ४४ वर्षीय शिवनाथ मण्डल, ५५ वर्षीय बेचु मण्डल र सप्तरीको बोदेबर्साइन नगरपालिका– ९ का ४८ वर्षीय रामकुमार साह छन् ।
सिराहा प्रहरीका अनुसार उनीहरूले चारवटा प्लाष्टिकको बोरामा प्याक गरिएको ९२ किलो गाँजा बोकेर उत्तरबाट दक्षिणतिर आउँदै थिए । पक्राउ परेकाहरूविरुद्ध प्रहरीले लागूऔषध मुद्दामा सिराहा जिल्ला अदालतबाट अनुसन्धानका लागि सात दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाइएको सिरहा प्रहरीका सूचना अधिकारी डिएसपी सुवास बुढाथोकीले जानकारी दिए ।













