कञ्चनपुर– कञ्चनपुरको बेलडाँडी गाँउपालिकाले ऐलानी जमिनको नापजाँच सुरु गरेको छ । भूमिहिन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जमिनको मालिक बनाउने उद्देश्यसहित गाउँपालिकाले बुधबारदेखि जग्गा नापीको काम सुरु गरेको हो ।
बेलडाँडी गाँउपालिका अध्यक्ष हरिशचन्द्र रानाले भूमिहिन दलित, भूमिहिन सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जमिन दिलाउनका लागि नापजाँच शुरु गरिएको बताए ।
गाँउपालिका प्रमुख रानाले ५ नम्बर वडा झिलमिलाबाट नापजाँच शुरु गरिएको बताए । यसअघि अव्यवस्थितमा फारम भरेका र बाँकी खाली रहेको ऐलानी जमिन नापजाँच गरिने गाँउप्रमुख रानाले बताए ।
उनका अनुसार १ सर्वेक्षक सहित ५ अमिन ऐलानी जमिन नापजाँच गर्नेछन । अब नापजाँचको काम निरन्तर अघि बढ्नेछ । बेलडाँडी गाँउपालिका उपप्रमुख शान्ति नाथले अब बेलडाँडीका भूमिहिन दलित, सुकुमबासी र जमिन भएरपनि स्वामित्व नभएका अव्यवस्थित बसोबासी नागरिक जमिनका मालिक बन्ने बताइन ।
नापजाँच कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका उपप्रमुख रामकुमारी रानाले नापी कार्यलाई तीव्र अघि बढाउँदै बषौँदेखि जमिनको स्वामित्वबाट बञ्चितलाई जमिन दिनुपर्ने बताइन् ।
गाँउपालिकाको उक्त योजनासंगै साढे चार हजार घर परिवार जमिनको मालिक बन्ने भएका छन् । बेलडाँडीमा भूमिहिन दलित १५५ भूमिहिन सुकुमबासी १९४ र अव्यवस्थित बसोबासी ४ हजार ३३३ यस अघि छुट्टाछुट्टै फारम परेका छन् ।
गाँउपालिकाले जमिन नापजाँच कार्य अघि बढाएसंगै बेलडाँडीका भूमिहिन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासी हर्षित भएका छन् । लामो पखाईपछि आफ्नो पालिका क्षेत्रका जनताको समस्या समाधान गर्न लागेको भन्दै स्थानीय हर्षित भएका छन् ।
जमिन भएरपनि लालपुर्जा नभएका अव्यवस्थित बसोबासी जमिन नभएका भूमिहिन दलित र सुकुमबासी जमिनको मालिक बन्ने भएपछि हर्षित भएका हुन । बेलडाँडीका झण्डै ४ हजार ६सय ८८ नागरिक जमिनको मालिक बन्नेसंगै एकारित राज्यलाई भूमिकर राजस्व अर्कारित नागरिकलाई अनेकन वित्तिय कारोबारका लागि समेत सुविधा हुने भएकाले यस कार्यबाट राज्य र नागरिक दुवै लाभान्वित हुनेछन् ।














